'एक न्युरो सर्जनका रूपमा म त्यतिबेला सबैभन्दा गौरव ठान्छु, जब मेरो बिरामी सञ्चो हुँदा खुशी र त्यसपछि सामाजिक–आर्थिक रूपमा सक्षम हुन्छ’
प्रा. डा. थापा काठमाडौं मेडिकल कलेज एन्ड शिक्षण अस्पतालको न्युरो सर्जरी विभागमा प्रमुख हुनुहुन्छ । नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसोन) र नेपाल एपेलेप्सी सोसाइटीको उपाध्यक्षको भूमिका निर्वाह गरिसक्नुभएका उहाँ नेसोनको स्पाइन सेक्सनको पूर्वअध्यक्ष पनि हुनुहुन्छ । नेसोनले प्रकाशित गर्ने नेपाल जर्नल न्युरो साइन्सेस (एनजेएनएस)को सम्पादक प्रमुख भएर काम गरेको अनुभव पनि डा. थापासँग छ । उहाँ सम्पादक हुँदा एनजेएनएस जर्नललाई साइटेसन इन्डेक्समा उच्च स्कोर प्राप्त भएको थियो । जसले नेपालका अनुसन्धानकर्ताहरूले देशभित्रै गरेको काम अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सफल भएको छ । डा. थापाले बीपी कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्सेसबाट एमबिबिएस, भारतको पिजिआई चण्डिगढबाट एमएस (जनरल सर्जरीमा) र दिल्लीस्थित एम्सबाट एमसिएच (न्युरो सर्जरीमा) गर्नुभएको छ । उहाँ सन् २०१०देखि नेपालमा सक्रिय हुनुहुन्छ । सुरूमा डा. थापाले काठमाडौं विश्वविद्यालय अन्तर्गत उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा उप–प्राध्यापकका रूपमा काम गर्नुभयो । सन् २०१२ देखि उहाँले काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा न्युरो सर्जरी विभागको स्थापना गरी सेवा दिँदै आउनुभएको छ । प्रा.डा. थापा भन्नुहुन्छ–‘आफू वा आफन्तको शल्यक्रिया गराउँदा आफ्नै विद्यार्थीमा भर गर्न सकियोस् भन्ने चाहना छ । त्यही चाहनाअनुसार न्युरो सर्जरीको तालिम र अभ्यास गराउन सफल भएका छौँ ।’ जानौँ न्युरो सर्जरीको करियरबारे उहाँको आफ्नै शब्द ।